सोसल मिडिया
युनिकोड
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार सहकारी ठगीको आरोपमा कृष्णप्रसाद जैसीलाई पक्राउ गरेको हो। उनलाई पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले बताए।
धनुष सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो। आइतबार सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो। त्यसकै आधारमा छानबिनका क्रममा जैसीलाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।
गत वर्ष धनुष सहकारीमा भएको ठगीबारे छानबिन भएको थियो। त्यतिवेला १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको पाइएको थियो। बचत हिनामिनासम्बन्धी प्रतिवेदन सहकारी रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो।
त्यही प्रतिवेदनका आधारमा सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो। त्यसका आधारमा जैसी पक्राउ परेका छन् भने अन्य चार जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको छ।
धनुष सहकारी ठगीमा प्रक्राउ परेका जैसीले नै सूर्यदर्शन सहकारी ठगीमा रास्वपा सभापति लामिछाने, ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राईलगायतविरुद्ध उजुरी दिएका दिए। उनले सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका तर्फबाट अदालतमा पनि बहस गरेका थिए।
सूर्यदर्शन सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याएर हिनामिना गरेको पाइएको थियो। त्यसमा रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए। लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।