सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आज (मंगलबार) देखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।
ललितपुरकाे ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म हुने अभिमुखीकरण कार्यक्रममा रास्वपाबाट प्रत्यक्षमा निर्वाचित १२५ र समानुपातितर्फ निर्वाचित ५७ गरी १ सय ८२ सांसद सहभागी हुने छन्।
रास्वपाले सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिने प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसद सहभागी हुने छन्।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पहिलो दिनको कार्यक्रम पार्टी वरिष्ठ नेता तथा उपसभापति डाेलप्रसाद अर्यालले उद्घाटन गर्नेछन् भने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
मंगलबारको सत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे जानकारी दिने छन् भने महामन्त्री बुर्लाकाेटीले पार्टी र संसदको सम्बन्धबारे सांसदहरूलाई प्रशिक्षित गर्ने कार्यतालिका रहेकाे उनले बताइन्।
उनका अनुसार मंगलबार र बुधबार हुने कार्यक्रममा देशको वर्तमान अवस्था, पार्टीको वाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने छ।
२०७९ मा रास्वपाबाट सांसद बनेकाहरूले नयाँ सांसदहरूलाई आफ्ना अनुभव बाँड्ने कार्यतालिका छ ।
अभिमुखीकरणको पहिलो दिन नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिने कार्यतालिका छ भने दोस्रो दिनमा योजना र बजेट निर्माण, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार विकासका सम्बन्धमा प्रशिक्षणको कार्यक्रम हुने छ।
सांसदहरूलाई प्रशिक्षण दिन रास्वपाले संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद्, अर्थविद्हरूलाई आमन्त्रण गरेको छ।
महामन्त्री कविन्द्र बुर्लाकाेटीका अनुसार संसदका पूर्व सचिव सुरेश अधिकारी, याेजना आयाेगमा पूर्वसचिव तोयानाराय ज्ञवाली, कानुन मन्त्रालयका पूर्व सचिव तोयानाथ अधिकारी, अध्येता तथा विश्लेषक दोभान राई, याेगगुरु एलपी भानु शर्माले प्रशिक्षण दिने छन्। ज्ञवालीलाई केपी ओली सरकारले मुख्य सचिव नियुक्त नगरेपछि उनी जागीर छोडेका थिए ।
रास्वपाले कार्यक्रम हलमा सांसदहरूलाई मोबाइल फोन प्रयोगमा निषेध गरेकाे छ भने कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेकाे महामन्त्री कविन्द्र बुर्लाकाेटीले बताए।
उनका अनुसार परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण गर्न निषेध गरिएको छ।