सोसल मिडिया
युनिकोड
भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।
चालिसेले तत्कालीन अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर उनले अनुसन्धानका क्रममा अख्तियारका अधिकारी र विशेष अदालतको इजलाससमक्ष इन्कारी बयान दिएका थिए ।
अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित गत मंसिर २८ गते मुद्दा चलाएको थियो । चालिसे अघिल्लो कार्यकालमा संघीय संसद्को अर्थ समितिका सभापति भएका थिए ।
चालिसेले सार्वजनिक पदमा बहाली हुँदा ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए । जसमध्ये चार करोड ८८ लाख रुपैयाँमात्रै वैध रहेको निचोडसहित अख्तियारले मुद्दा चलाएको थियो । उनले ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै अख्तियारले बिगो कायम गरेको थियो ।
अख्तियारले विशेषमा चालिसेसहित पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
चालिसेस २०७४ सालको निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाका मेयर बनेका थिए । मेयरको जिम्मेवारी पूरा गरेपछि उनी २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।