शेरबहादुरले गगनलाई गोर्खेलौरी लगाउन माग गर्दै दायर गरेको रिट थन्कियो

आइतबार, चैत १, २०८२

कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाविरुद्ध शेरबहादुर देउवाले दायर गरेको रिटमा आज आइतबार पनि सुनुवाइ नहुने भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइने भएको हो। 

इजलासको अन्तिम (२२औँ नम्बर) मा पेशी तोकिएको थियो। यही इजलासमा धनुषा क्षेत्र नं १ का सांसद किसोरी साहले निर्वाचन आयोगविरुद्ध दिएको रिटमा सुनुवाइ भइरहेको छ। 

पूर्वसभापति देउवाले पनि निर्वाचन आयोगको निर्णयविरुद्ध नै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। 

माघ २ गते निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापतिको मान्यता दिएपछि देउवाले सर्वोच्चमा माघ ४ गते रिट निवेदन दिएका थिए।

प्रतिनिधिसभाको उम्मेदवारी दर्ताको दिन माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो। इजलासले गगन थापाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सांसदको टिकट पनि गगन थापाले नै वितरण गरेका थिए। 

यता सर्वोच्चमा पेसी तोकिएकै दिन आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा समानुपातिक सांसद छान्न केन्द्रीय कमिटिको बैठक थापाकै अध्यक्षतामा बसिरहेको छ। 

यसअघि रिट दायर गर्न सर्वोच्च पुगेका नेताहरू पनि थापाकै हस्ताक्षरमा टिकट लिएर निर्वाचन लडेका थिए।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्