आज पापमोचनी एकादशी व्रत, यस्तो छ शास्त्रीय मान्यता

आइतबार, चैत १, २०८२

चैत्रकृष्ण एकादशीको व्रतको बारेमा जान्नको ईच्छा भएर युधिष्ठिरले श्रीकृष्णसँग जिज्ञासा राख्नुभयो ।

श्रीकृष्णले पनि पापमोचनीका एकादशीको व्रत गर्नाले चिताएको कुरा पुरा हुने र सिद्धि दिने तथा कल्याण गर्ने अनि भएभरका पाप हर्ने अनि धर्मै धर्म दिने जो एउटा विचित्र कथा छ ,त्यो कथा तिमीलाई सुनाउँछु भन्नुभयो ।

उहिले वसन्त ऋतुका बेलामा,फूलेका फूलहरुले ढकमम्क भएको,अप्सरा समुहहरुले विहार गरिएको चैत्ररथ नाम गरेको वनमा गन्धर्वकन्याहरु गन्धर्व युवकहरुका साथ खेलवाढ गर्दथे ।

ईन्द्र आदि गरिएका देवता हरुपनि त्यहि नै विहार गर्दथे । त्यतीखेर चैत्ररथ भन्दा राम्रो अरु कुनै वन थिएन । त्यसै वनमा नै कैयौँ मुनिहरु तपस्या गरिरहेका थिए ।

देवताहरुका साथमा ईन्द्रपनि चैत्र बैसाखमा त्यहाँ आएर घुमघाम गर्थे, मेधावी नामले पुकारिने एक जना श्रेष्ठ मुनि पनि त्यहाँ थिए । अनि अप्सराहरुले ती मेधावी मुनिवरलाई मोहित गराउनका लागि उपाय गर्न थाले ।

ति अस्सरा मध्ये मञ्जुघोषा भन्ने नामले प्रसिद्ध कुनै अप्सराले तिनको अभिप्राय जान्ने ईच्छा गर्दी छँदी । ती मुनिको डरले उनको आश्रमको नजिक कोशभर पर रहेर मीठो सुरिलो स्वरले गाउँदै वीणा वजाउन लागिन् ।

त्यसपछि फूल र चन्दनले सिङ्गारिएकी ति अप्सरालाई गाइरहेकी देखेर कामदेव पनि ति शिवभक्त मुनिश्रेष्ठलाई जित्ने ईच्छा गर्न थाल्यो ।

कामदेवले पनि शिवको वैरत्वलाई सम्झदै त्यस अप्सराको शरिरमा आसक्त गराउने ईच्छाले,त्यस अप्सराको आँखीभुइँलाई धनु बनाएर,त्यसमा कटाक्ष (टेडो हेराइ) रुपी ताँदो खिँचेर क्रमैले उसका दुवै आँखालाई पखेटा भएका वाण बनाएर,उसका दुवै स्तनलाई पटकुटी (लुगाको पर्दा ) बनाएर विजयको लागिगी उपस्थित भयो ।

त्यहाँ त्यो मञ्जुघोषा नै कामदेवको सेना झै भई । अनि मेधावी नामका मुनिलाई देखेर त्यो मञ्जुघोषा पनि कामले उकुसमुकुसिएर छटपटाउन थाली ।

यौवन अवस्थाले दन्दनाउदो त्यो मेधावी पनि अत्यन्तै राम्रो देखिन्थ्यो । सेतो जनै लगाएको,मानौ दोस्रो कामदेवको समान त्यो दण्ड स्वामी । त्यो मेधावी,त्यहाँ च्यवन ऋषिको सुन्दर आश्रममा रहन्थ्यो ।

मञ्जुघोषा पनि ती मुनिश्रेष्ठलाई देखेर त्यहिँ रहदी भई । कामेदेवको वशमा परेकी त्यो मञ्जुघोषा चुराहरु छन्छनाउँदै,पाउजेब र करधनी छम्छमाउँदै विस्तारै विस्तारै गाउँनी थाली ।

आशय प्रकट गर्दै गाईरहेकी त्यो मञ्जुघोषालाई देखेर ती मुनिश्रेष्ठ मेधावी पनि सैन्य सहितको कामदेवद्धारा जबर्जस्ती मोहको वशमा गरियो ।

अनि मञ्जुघोषा नखराउँदै आएर ती मुनिलाई पनि त्यस्ता प्रकारको कामातुर देखेर त्यस स्रीले हाँस्यभाव कटाक्षहरुले अर्थात् मन्द मुस्कान गूढ आशय टेडो हेराइद्धारा मोहित पार्दी भई ।

अनि उसले वीणालाई तल भुईमा राखेर ती मुनिलाई,वायुका वेगले हल्लाएर आकुल भएको लहराले वृक्ष बेरेझैँ, अंगालो मारी ।

अनि ती मुनिश्रेष्ठ मेधावीले पनि त्यस स्रीको शरिरलाई उत्तम देखेर त्यसै वनको कुनै ठाउँमा त्यसका साथ रमिता गरे । अनि कामदेवले वशमा परेका ती मुनिको शिवतत्व अर्थात तपस्या बेपत्ता भयो ।

तव त्यो कामुक मेधावीले त्यसका साथ रमण गरेको गर्यै गर्दा रात दिन क्यै नजान्ने भयो अर्थात कुन दिन कुन रात हो उसलाई पत्तै भएन ।

त्यसपछि ति मुनीको आचार विचार,संयम नियम सारा लोप भएको धेरै समय बित्यो । अनि मञ्जुघोषा पनि स्वर्ग जाने सुरसरा गर्न थाली ।

अनि संगमका लागि गएकी त्यस अप्सराले रमण गरिरहेका ती मुनिपुङ्गलाई भनी हे मुनी,अब मलाई मेरो आफ्नो धाम मा जनाका लागि आदेश दिनुहोस् ।

तब मेधावीले भने हे सुन्दरी तिमी आजै त साँझपख आएकी हौ । जबसम्म भोलि बिहान उज्यालो हुँदैन तबसम्म त मेरा नगीचमा रहू ।

ति मुनीका यस्ता प्रकारको कुरो सुनेर त्यो अप्सरा भयभीत भई अनि मुनिहरुमा श्रेष्ठ ती मुनिलाई अंगालो मारेर फेरी रमण गर्न थाली । ति मुनीको श्रापको भयले डराएकी उसले त्यहाँ धेरै वर्षहरु अर्थात पचपन्न वर्ष, नौ महिना, तीन दिन सम्म ति मुनीका साथ रमण गर्दै रही तर त्यो समय त मुनीलाई आजैको आधारात जस्तै भयो त्यतिका वर्ष बितेपछि उसले ति मुनीलाई हे वा्रह्मण मेरो यहाँ धेरै वर्ष बित्यो, अब म यतिखेर जान चाहन्छु ।

मैले मेरोघर जानु पर्छ तसर्थ आज्ञा हवस् भन्दा मेधावीले भने ऐले भर्खर प्रातःकाल भएको छ मेरो कुरा सुन । जबसम्म म सन्ध्या गर्छु तबसम्म तिमी स्थिर रहु ।

मुनीको यस्तो कुरा सुनेर डराउँदी छदी केही मन्द मुस्कान मुस्कुराउँदै उसले भन्न लागि, अप्शराराले भनि हे मुनी तपाईको सन्ध्या कति लामो छ ? तपाईको सन्ध्या सकियो कि सकिएको छैन मेरा उपर कृपा गरेर अब बितेको समय विचार गर्नुहोस् ।

त्यस स्त्रीको यस्तो विचार सुनेर आश्चर्य चकित भएका ति मुनीले आफ्नो हृदयमा ध्यान गरेर तब समयको लेखा लगाउन थाले ।

त्यसको साथमा सन्तावन्न वर्ष बितिसकेका छन् । तब ति अन्त्यन्तै रिसाएर क्रोधका दुवै आँखाबाट झिल्का निश्कन थाले तब तिनले तपस्यालाई नाश गर्नेवाली,त्यस स्त्रीलाई काल समान देख्न थाले अत्यन्त दुखले आर्जन गरेको मेरो त्यो तपस्यालाई यस डङ्कीनिले नाश पारिदिई ।

तव व्याकुल ईन्द्रियवाला ति मुनीले ओठ कपाउँदै केहि भने अनि ति मेधावीले त्यसलाई त पिचासीनि होइजा भनेर सराप दिए । हे पापीनी,दुष्ट आचरण गर्नेवाली,हे कुलटा तलाई धिक्कार छ । तिनका यस्ता श्रापले पिडीएकी त्यो नम्र भएर ति उभिरही ।

मुनिको कृपा पाएपछि, उसले मुनीलाई, भनि हे मुनी प्रशन्नपूर्वक दया गर्नुहोस् र श्रापको नाश हुने उपाए बताउने कृपा गर्नुहोस् । श्रापले म छटपटाईरहेको छु । कसरी मेरो उद्धार होला ? किनकि सज्जनहरुको संगत वचनहरुद्धारा सातौँ पाईलामै फल दिनेवाला हुन्छ ।

हे मुनी तपाईका साथ धेरै वर्षहरु बिते । त्यसै कारणले हे तपस्वी हे स्वामी मेरा उपर प्रशन्न हुनुहोस् । तब मुनीले भने हे पापिनी तैले मेरो ठूलो तपस्यालाई नाश पारिदिईस्, अब म के गरुँ तर पनि हे कल्याणी श्राप हटाउनलाई मेरो कुरो सुन । चैत्र कृष्णपक्षको पापमोचनी एकादशीको व्रत गर त्यो व्रतको प्रभावले पिशाचत्व नाश हुनेछ ।

मञ्जुघोषालाई त्यती कुरा भनि आफ्ना आश्रममा जाँदा भए । ती मुनिलाई आश्रममा आएको देखेर च्यावनले हे पुत्र सारा पुन्य नाश पारेर तैँले यो के गरेको ? भने ।

तब मुनीले भने हे बाबा मैले अप्सरासित रमण गरेर ठूलो पाप गरे जे गर्दा त्यो पाप नाश हुन्छ त्यो बताईबक्सियोस् । तब च्यवन ऋषिले भन्नुभयो ।

हे पुत्र चैत्रको कृष्णपक्षमा आउँने एकादशीको व्रत गर्यो भने समस्त पाप नाश हुन्छ । आफ्ना बाबुले भनको कुरा सुनि ती मेधावीले उत्तम व्रत गरे ।

त्यसै व्रतका प्रभावले सबै पाप नाश भई फेरी पुण्यवान भयो । उता मञ्जुघोषा पनि पापमोचनी एकादशीको व्रत गरि पाप मुक्त भई । त्यो मञ्जुघोषा पनि पाप नाश भएर स्वर्ग गई ।

त्यसकारण जो मनुष्यहरु पापमोचनिका एकादशीको व्रत गर्दछन् । तिनीहरुले जस्तो सुकै पाप परेको भएपनि नाश हुन्छ । यो कथा सुन्नाले वा पढ्नाले मात्रै एक हजार गाई दान गरेको फल मिल्दछ ।

व्राह्मण मार्ने, गाई मार्ने,रक्सि पिउने,गुरुआमासँग रमण गर्ने आदि पाप परेको भएपनि यो एकादशशीको व्रत गर्नाले ती सबै पापबाट मुक्त हुनेछन् पनि एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०३:२५
प्रतिक्रिया दिनुहोस्