सोसल मिडिया
युनिकोड
नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
शनिबार फागुन ३० गते अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले यस्तो बताएका हुन् ।
भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो ।
उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।’
भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको थियो । उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको निष्कर्ष पार्टीभित्र बनेको छ ।
‘एमाले र नेतृत्वप्रति आक्रमण भयो, तर त्यो कुरा जनताबिच प्रभावकारी रूपमा बुझाउन सकेनौँ । त्यसले एउटा खालको भ्रम पैदा गर्यो र त्यही भाष्यले हाम्रो विपरीत जनमत बन्यो भन्ने बुझाइ बनेको छ,’ उनले भने ।
यसैबिच पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवाद भएको जानकारी नभएको बताए । ‘म त भर्खरै हिजो राति मात्रै आएको हुँ, मैले त्यति बुझ्या छैन । कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन,’ उनले भने ।