सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।
शुक्रबार रास्वपा बरिष्ठ नेता शाह हात्तीगौँडास्थित सभापति लामिछानेको निवास पुगेका हुन्। लामिछाने उच्च ज्वरोका कारण आराम गरिरहेकाले शाह घरमै पुगेका हुन्।
लामिछाने निवासमा दुवै जनाबीच समसामियक राजनीतिक विषयमा छलफल भएको छ। लामिछाने र शाहबीच विशेष गरेर समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे छलफल भएको छ।
दुवै जनाबीच नियमित भेटवार्ता भइरहेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले बताइन्। ‘सभापतिज्यूको स्वास्थ्य अवस्था बुझ्न जानु भएको होला,’ रावलले भनिन्।
उनका अनुसार समानुपातिक उम्मेदवारको नाम पनि टुंगो लगाउने विषयमा छलफल भएको छ। ‘समानुपातिक उम्मेदवारको नाम भोलि टुंग्याउँछौँ,’ रावलले भनिन्।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ यसअघि नै नतिजा सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फ पनि रास्वपाले ५७ सिट पाउने निर्वाचन आयोगले पत्राचार गरिसकेको छ।
निर्वाचन आयोगले सबै दललाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ। त्यसैलाई लिएर लामिछाने र शाहबीच छलफल भएको जनाइएको छ।
राजनीतिक दलले क्लस्टर मिलाएर नामावली पठाउनुपर्छ। त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र दिनेछ।
प्रत्यक्ष र समानुपातिक गरी रास्वपाले १८२ सिट जितेको छ। रास्वपाले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ।