जेनजी आन्दोलनमा सुरुदेखि नै सुरक्षा कमजोरी देखिएको आयोगको निष्कर्ष

आइतबार, फागुन २४, २०८२

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सुरुदेखि नै सुरक्षा कमजोरी देखिएको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले २३ गते सुरु भएको जेनजी आन्दोलनमा नयाँ बानेश्वरस्थित प्रहरीले राखेको ब्यारिकेटबाटै सुरक्षा कमजोरी दिएको बताए।

‘सुरक्षाका धेरै कमजोरी देखिएको छ। २३ गते नयाँ बानेश्वरको प्रहरी ब्यारिकेटबाट नै कमजोरी देखिएको पाइएको छ’, शर्माले सञ्चारकर्मीसँग भने। उनले केही व्यक्तिहरूलाई कारबाहीका लागि आयोगले सरकारलाई सिफारिस गरेकोसमेत जानकारी दिए।

यद्यपि उनले कति जनलाई कुन मुद्दामा कारबाही गर्ने भन्ने सिफारिस गरेको विषय भने खुलाउन मानेन्। उनले प्रतिवेदन तयार पार्नक्रममा २०० भन्दा बढी व्यक्तिसँग कुराकानी गरेको र केहीसँग कागजसमेत गरिएको जानकारी दिए।

उनकाअनुसार कार्की नेतृत्वको आयोगले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन करिब ८ देखि १० हजारको रहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्