सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।
आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएलगत्तै पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले भने, ‘गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँं।’
आजै बिहान जाँचबुझ आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो।
त्यस क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनापूर्वाग्रह देखेको कुरा मात्र प्रतिवेदनमा राखेको बताएका थिए।
‘भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ,’ उनले भने। सरकारको कुशासनका कारण भदौ २३ गते जेनजी आन्दोलन भएको पनि उनले बताए।
‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ,’ उनले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’
आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए।
अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषय प्रतिवेदनले उल्लेख गरेको बताए। ‘प्रतिवेदनमा समिटिएका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्छ,’ उनले भने।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन्।
‘तपाईँहरूले एकदमै मेहनत गर्नुभएको छ। यसका लागि धन्यवाद छ। सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ,’ उनले भनिन्, ‘पछि समय पनि थप्नुपर्ने भयो। तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईँहरुको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ।’
उनले आआफ्नो क्षेत्रमा ख्याती कमाएका दिग्गज व्यक्तिहरुले तयार गरेकाले त्यसको प्रतिविम्ब प्रतिवेदनमा समेटिएकोमा आफू विश्वस्त भएको पनि बताइन्।
‘आ-आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ। त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ,’ उनले भनिन्, ‘अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ।’