काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचन आयोगले कमायो दुई लाख सत्तरी हजार

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी छन् । उनले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन् ।  

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता थिए । तीमध्ये करिब २८ हजार मत खसेको थियो । १० प्रतिशत ल्याउने उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो । नेकपा एमालेका उम्मेदवारसहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ । 

एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार  ६ सय १८ मत पाएका थिए । उनी र उनीपछिका सबै उम्मेदवारको जमानत जफत हुने देखिएको छ । उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी,श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीसहित जमानत जफत हुने देखिन्छ । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।

सबैभन्दा कम मत प्राप्त गर्नेमा अर्जुनबहादुर शाही छन् जसले शून्य मत प्राप्त गरेका छन् । राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम्मले एक मत मात्र प्राप्त गरेका छन् । राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र  रमेशप्रसाद जोशीले २ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका-२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दस प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । 

२०७९ मा देशभर एमाले र कांग्रेसका १/१ उम्मेदवारको जमानत जफत भएको थियो । त्यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रका २ उम्मेदवारको जमानत जफत भएको थियो । यस पटक धेरै स्थानमा अग्रता बनाएको रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्