सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनको नाममा भदौ २४ गते राज्यका महत्वपूर्ण निकायमा तोडफोड र आगजनीमा संलग्न १३ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उपत्यका भित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनी गर्नेविरुद्ध मुद्दा दायर भएको हो।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार सिंहदबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
त्यस्तै सर्वोच्च अदालत जलाउनेहरु सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ। श्रेष्ठका अनुसार उनीहरुलाई आपराधिक उपद्रो मच्चाएको अभियोग लगाइएको छ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट उनीहरुविरुद्ध मुद्दा चलाइएको हो।
श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्याएको अभियोग पत्रमा उल्लेख छ।
त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ। प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ।
प्रतिवादीहरु सबैलाई अहिले सरकारी वकिल कार्यालयले हाजिर जमानीमा रिहा गरेको छ। अब उनीहरुविरुद्ध अदालतबाट म्याद जारी हुने अधिकारीले जानकारी दिए।
सरकारी वकिल कार्यालयले विष्णुप्रसाद ढुंगोलविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको छ। उनी घटना स्थलमा उपस्थित भएको भिडियो तथा अन्य प्रतिवादीले पोल नगरेको भन्दै मुद्दा नचल्ने निर्णय गरिएको हो।