सोसल मिडिया
युनिकोड
नेपाल सरकारको रक्षा मन्त्रालयका पूर्व सचिव देवेन्द्र प्रसाद सिटौला र नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न सार्वजनिक अपिल गरेका छन् । विगतमा भ्रष्टाचार विरुद्धको अभियानमा समेत सक्रिय रहेका यी दुई व्यक्तित्वले देशको वर्तमान संकट चिर्न र सुशासन कायम गर्न कांग्रेस नै एकमात्र भरोसायोग्य शक्ति भएको निष्कर्ष निकालेका हुन् ।
सिटौला र खरेलद्वारा जारी संयुक्त विज्ञप्तिमा देश अहिले भूराजनीतिक जटिलता, कुशासन, भ्रष्टाचार र ‘लोकप्रियतावाद’ को चपेटामा परेको उल्लेख गरिएको छ । विशेषगरी युवा पुस्तालाई उत्तेजना, भ्रम र प्रतिशोधको पछि नलागी मुद्दा तथा एजेन्डामा केन्द्रित भएर निर्णय लिन उनीहरूले आग्रह गरेका छन् । उनीहरूका अनुसार, भदौ २३ र २४ का विनाशकारी घटनाहरू देशका लागि ‘पापकर्म’ थिए र यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइ गम्भीर प्रश्नको विषय बनेको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसले सक्षम युवा नेतृत्व स्थापित गर्न सफल भएको र सभापति गगन कुमार थापाको सुशासन र विधिको शासनप्रतिको मार्गचित्र स्पष्ट तथा व्यवहारिक रहेको दाबी गरिएको छ । पूर्व सभापति र आफ्नै समेत सम्पत्ति छानबिन गर्ने गगन थापाको घोषणालाई उनीहरूले भ्रष्टाचार विरुद्धको कठोर कदमका रूपमा स्वागत गरेका छन् । भावना र आक्रोशमा युवाहरूलाई भड्काउने ‘कपटी जमात’ बाट देशलाई जोगाउनु पर्ने र यस्तो आँट तथा क्षमता अन्य नयाँ शक्ति भनिएकाहरूमा नदेखिएको उनीहरूको ठहर छ ।
यसैगरी, कांग्रेसले ‘एकपटकको नेपाली सँधैको नेपाली’ भन्ने धारणा र गैर आवासीय नेपालीका मागहरूलाई प्राथमिकतामा राखेको कुरालाई पनि विज्ञप्तिमा जोड दिइएको छ। जेन-जी (Gen-Z) युवाका भावना र समस्यालाई कांग्रेसको युवा नेतृत्वले सुरुदेखि नै बुझेर आफ्ना नीतिहरू सार्वजनिक गरेको उनीहरूको तर्क छ । अन्तमा, कुनै पनि पार्टीको सदस्यता नलिएका यी दुई स्वतन्त्र नागरिकले देशको धरातलीय यथार्थ बुझेर ‘रुख’ चिन्हमा मतदान गरी सुशासनयुक्त नेपाल निर्माणमा सहभागी हुन सम्पूर्ण नेपालीलाई जोड्दार अपिल गरेका छन्।
खरेल अघिल्लो चुनावमा काठमान्डू- १ मा राम्रो मत ल्याएका उम्मेदवार हुन्। उनले अहिले कांग्रेसका उम्मेदवार प्रबल थापालाई मत माग्दै हिडेका छन्। खरेलले तीन हजार हाराहारीको मत प्रभाव पार्ने बताईएको छ।