निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा निर्वाचन अधिकृत सहित दुईको मृत्यु

सोमबार, फागुन १८, २०८२

रामेछापमा भएका निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। 

सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका सात जनामध्ये थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रामेछाप प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो।

उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्। यसअघि दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।

योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमिल्सनाले जानकारी दिए। उनका अनुसार बाँकी घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ ल्याईएको  छ।

गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्