सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारेका हुन्।
हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिब १ हजार १ सय उजुरी परेको बताए। तीमध्ये धेरैको स्थानीय स्तरमै फर्छ्यौट भइसकेको उनले बताए।
आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताए।
उनले भने, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ। एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो।’
निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानुन बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको दाबी छ ।