सोसल मिडिया
युनिकोड
इजरायलले इरानमा आक्रमण सुरु गरेपछि तेल अभिभस्थित नेपाली दूतावासले नेपाली नागरिकका लागि एडभाइजरी जारी गरेको छ।
इजरायलस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै भनेको छ, ‘यस सन्दर्भमा हाल इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई निम्न सावधानी अपनाउन सल्लाह दिइन्छ।’
१. इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्नुहोस्।
२. सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आआफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।
३. इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्नुहोस्।
४. स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्नुहोस्।
५. तल दिइएको सम्पर्क विवरणमा तेल अभिभस्थित नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्नुहोस्।
६. नजिकैका क्षेत्रहरूमा तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहनुहोस्।
७. दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्नेछ।
इजरायल र अमेरिकाले शनिबार संयुक्त रूपमा इरानमा सैन्य हमला सुरु गरेका छन्। राजधानी तेहरानसहित इरानका धेरै सहरमा हवाई आक्रमण गरिएको हो।
आक्रमण सुरु भएपछि तेहरानका मानिस भागाभाग गरेका तस्बिर सार्वजनिक भएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको बताएका छन्।
ट्रुथ सोसलमा पोस्ट गरिएको भिडिओमा ट्रम्पले अमेरिकाले इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गरेको उल्लेख गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘हामीले सम्झौता गर्न बारम्बार प्रयास गर्यौँ। हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौँ र मिसाइल उद्योगलाई माटोमा मिलाइदिने छौँ।’