सोसल मिडिया
युनिकोड
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । चाङले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी उनको सचिवालयले जानकारी दिएको छ । प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने कार्कीले विश्वास व्यक्त गरिन् ।
व्यस्तताका बीच भेटका लागि समय उपलब्ध गराइदिएकोमा राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गरेका थिए । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै उनले बधाइ दिएका थिए । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको उनले बताएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता व्यक्त गरिन् । विकासका विभिन्न परियोजना र आयामहरूमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरूप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्की र राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरेका थिए ।