सोसल मिडिया
युनिकोड
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान सुचारु हुने भएका छन्। विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प पारिने गरिए पनि यसपटक निर्वाचन आयोगले हवाई सेवालाई यथावत राख्ने निर्णय गरेको हो।
आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको छ। यो निर्णयसँगै २१ फागुनमा उडानको टिकट भएका यात्रुहरूले ढुक्कसँग यात्रा गर्न पाउनेछन्।
यस्तो छ व्यवस्था:
सवारी साधन प्रयोग: आन्तरिक वा अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुहरूले विमानस्थलबाट घर वा होटलसम्म र होटलबाट विमानस्थलसम्म जान निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सको गाडी प्रयोग गर्न पाउनेछन्।
हवाई टिकटकै आधारमा आवतजावत: यात्रुहरूले आफ्नो साथमा रहेको हवाई टिकट देखाएरै विमानस्थलसम्मको यात्रा गर्न सक्ने व्यवस्था मिलाउन आयोगले गृहलाई भनेको छ।
पुरानो चलन परिवर्तन: यसअघिका निर्वाचनहरूमा आन्तरिक उडान पूर्ण रूपमा बन्द गरिँदै आएको थियो, जसका कारण पर्यटक र अत्यावश्यक काममा निस्कनुपर्ने यात्रुहरू मर्कामा पर्दै आएका थिए।
यसअघि नेपाल पर्यटन बोर्डले पुरानै अभ्यासका आधारमा 'ट्राभल एडभाइजरी' जारी गर्दै उडान बन्द हुन सक्ने संकेत गरेको थियो। तर, आयोगको नयाँ निर्णयले पर्यटन क्षेत्र र हवाई यात्रुलाई ठूलो राहत दिएको छ। आयोगले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान प्रक्रियामा सहजीकरण गर्न यस्तो खुकुलो नीति लिएको जनाएको छ।