सोसल मिडिया
युनिकोड
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्।
शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए। प्रलोपामा लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
नेकपाले उनलाई निष्कासन गरेको जानकारी प्रदेश सभालाई दिएको थियो। नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गरे। शर्मा सांसदबाट पदमुक्त भएको जनाएको छ।
उनलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो। निर्वाचित भएको दलले निष्कासन गरेको प्रदेश सभामा जानकारी गराएपछि सांसदबाट पदमुक्त हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ। त्यही व्यवस्था अनुसार, शर्मा पदमुक्त भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द)बाट रुकुम (पश्चिम) १ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले २० हजार १६० मत पाएका थिए।
उनी २०७९ पुस २७ देखि २०८० चैत २१ गतेसम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए। कर्णालीको ४० सदस्यीय प्रदेश सभामा अब ३९ सदस्य रहेका छन्।