रवि लामिछानेलाई पूर्व सभामुख देवराजले झापा बाटै यसरी हाने झटारो

मंगलबार, फागुन १२, २०८२

पूर्व सभामुखसमेत रहेका एमाले नेता देवराज घिमिरेले रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने काम गरेको आरोप लगाएका छन्। 

मंगलबार बिहान बिर्तामोडमा आयोजिक रास्वपाको चुनावी कार्यक्रममा लामिछानले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको घिमिरेको भनाई छ। 

‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर मविरूद्ध घृणा फैलाउने काम गर्नुभएछ,’ घिमिरेले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन्। घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन।’

संसद्‍मा हरेक सदस्यले आफ्नो अभिव्यक्ति दिने अधिकार रहेको भन्दै उनले संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिने काम आफूले गरेको दाबी पनि उले गरेका छन्। 

‘संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यासअनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ,’ उनले भनेका छन्, ‘माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’

घिमिरेले संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा बुझ्नुपर्ने पनि बताएका छन्।

‘उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो। संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ, मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ। अझ बढी काटिएको हुनुपर्दछ,’ उनले अगाडि भनेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ?’ 

तर उनले आफू आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा नरहेको पनि दाबी गरेका छन्।  

आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन पनि उनले लामिछानेलाई आग्रह गरेका छन्।

झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले आफूले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको घिमिरेको भनाई छ। झापा क्षेत्र नम्बर २ मा पूर्वभामुख  घिमिरेको पूर्व उपसभामुख इन्दिरा रानासँग प्रतिस्पर्धा हुने अनुमान छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्