सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ।
मंगलबार एमालेले पत्रकार सम्मेलन गरी जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको जनाएको छ। पत्रकार सम्मेलनका क्रममा एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले निषेधाज्ञा र कर्फ्युले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताए।
तराई-मधेसका विभिन्न जिल्लामा लगाइएको कर्फ्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्याउने काम गरिएको उनको भनाइ थियो। सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ।
समाजमा अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्याएको छ। शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए।
त्यस्तै, प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालतको आलटालप्रति असन्तुष्टि जनाएको छ। अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको एमालेको आरोप छ।
निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यमबाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ। यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको शाहीको जिकिर छ।
सामाजिक सञ्जालमार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुविकरण गराउन खोजिएको भन्दै एमालेले सरोकारवाला सबैलाई जिम्मेवार हुन आह्वान गरेको छ।