सोसल मिडिया
युनिकोड
२१ फागुनको चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच तनाव बढ्दै गएको छ । चुनावी कार्यक्रमका क्रममा केही स्थानमा झडप भएका छन् । राैतहटको गाैरमा धार्मिक विषयलाई लिएर सुरु भएको झडप नरोकिएपछि स्थानीय प्रशासनले कर्प्यु लगाएको छ । कर्फ्युका बीच सेना परिचालन हुँदासमेत गाैर शान्त हुन सकेको छैन ।
उता सुनसरीमा पनि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूबीच झडप भएको छ । कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा रास्वपा कार्यकर्तासँग जम्काभेट भएपछि झडप भएको हो ।
तत्कालै प्रहरीले स्थिति नियन्त्रणमा लिएकोले तनाव चर्किन नपाएको सुनसरीका एसपी केशव थेवेले बताए ।
उता दाङमा बिहीबार राति रास्वपा कार्यकर्ताले एमालेको चुनाव चिह्नअंकित झण्डा जलाएपछि एमालेका कार्यकर्ता आक्राेशित भएका छन् । झण्डा जलाएको रिसमा एमाले कार्यकर्ताले पनि रास्वपा कार्यालयमा शुक्रबार तोडफोड गरेका थिए ।
दाङमै राजा वीरेन्द्रको सालिकमा रास्वपा कार्यकर्ताहरूले अपमापनजनक व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा गरेको थियो । चितवनमा शंकास्पद बस्तु सडकमा राखेर जनजीवन आतंकित पार्न खोजिएको छ । यद्यपि उक्त शंकास्पद झोलामा फोहोरको थुप्रो भेटिएको छ ।
सरकारले सबै दललाई संयमता अपनाउन र चुनावी आचारसंहिता पालना गर्न आग्रह गरेको छ । चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बिथोल्ने प्रयास निस्तेज पार्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
प्रधानमन्त्रीले हिजो गण्डकी र आज लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरूसँग छलफल गरेर स्वच्छ र स्वस्थ वातावरणमा निर्वाचन सम्पन्न गराउने वातावरणका लागि तदारुकताका साथ काम गर्न निर्देशन दिएकी छन् । सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाइएको बताएका छन् । चुनाव आउन आज फागुन ९ देखि अब १२ दिन मात्रै बाँकी छ ।