सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न छन् कि छैनन् भन्ने विषयमा दुई वर्ष पहिले प्रतिनिधि सभामा लामो विवाद भयो। नेपाली कांग्रेस लगायतका दलले उनीमाथि छानबिन हुनुपर्ने माग राखे। तत्कालीन एमाले र माओवादी लगायतका दलले उनको संलग्नता नरहेको बताए।
तर कांग्रेसले संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै लामो समय संसद अवरोध गर्यो। समिति नबनाएसम्म संसद चल्नै दिएन।
त्यतिबेला कांग्रेसका तत्कालीन महामन्त्री (वर्तमान सभापति) गगन थापाले संसदमै रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण यहाँ छ भन्दै बोलेका थिए।
नभन्दै एमाले नेता सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति बन्यो र प्रतिवेदन बुझायो। त्यही प्रतिवेदनका आधारमा सरकारले रवि लामिछानेमाथि सहकारी ठगीका कसुरमा अनुसन्धान अगाडी बढायो।
पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दाबाट सुरु भएको अनुसन्धान पाँच जिल्ला पुग्यो। पाँचवटै जिल्लाका अदालतले रवि लामिछानेलाई अहिले नै निर्दोष हुन्, संलग्नता छैन भन्ने अवस्था नरहेको भन्दै धरौटी माग गर्यो। धरौटी बुझाउँदै रिहा भएका लामिछानेलाई सुप्रिम सहकारी ठगीको मुद्दामा त पुर्पक्षका लागि थुनामै पठाउने आदेश उच्च अदालतले गर्यो।
तर त्यही उच्च अदालतले पछि बिगो बापतको जमानत लिएर रिहा गर्न आदेश दियो। त्यसरी रिहा भएका रवि अहिले चितवन क्षेत्र नं २ बाट पुनः चुनाव लड्दैछन्।
तर कांग्रेस सभापति गगन थापालाई भने रवि समर्थकले पहिले संसदमा बोल्दा सहकारी ठगेको प्रमाण छ भनेको विषयमा सोधिरहे, ‘प्रमाण खै?’
तर बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दा गगनले नागरिकका प्रश्नका जवाफ दिए। त्यही क्रममा उनलाई सोधिएको थियो–प्रमाण खै ?
आफूलाई बारम्बार सोधिने यो प्रश्नको जवाफ आजै दिन नचाहेको भन्दै गगनले जवाफ दिए। सर्वोच्च अदालतले रविलाई थुनामा पठाउन लिएका आधारलाई नै उनले जवाफमा पढेर सुनाए।
सर्वोच्च अदालतले रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दा केही आधारहरु लिएको थियो। जुन आधारलाई गगनले प्रमाण खै भन्ने प्रस्नको जवाफ स्वरुप प्रस्तुत गरे।
१) रवि लामिछानेको नाममा दुई करोड कर्जा प्रवाह भएको। २) आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेको देखिएकोले रकमबारे थाहा थिएन भन्ने जिकिर खण्डित भएको। ३) रवि लामिछाने प्रबन्ध निर्देशक हुनु पहिले नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्न र हस्ताक्षर गर्ने निर्णयमा संलग्न भएको। ४) रवि लामिछानेले निशुल्क सेयर पाएको दाबी गरे पनि उक्त शेयरमा लगानी गर्नका लागि सहकारीकै रकम प्रयोग गरेको। ५) आधिकारीक रुपमा गोर्खा मिडियाबाट अलग भएको भनेको मिति पश्चात पनि कम्पनीका चेकहरूमा निरन्तर हस्ताक्षर गरिरहेको। ६) लामिछाने कर्मचारीको रुपमा मात्रै नभई कम्पनीमा सारभूत प्रभाव पार्ने हैसियतमा रहेको अन्य कर्मचारीको बयानले समेत स्पष्ट पारेको। ७) सुप्रिम सहकारीको १० करोड ९९ लाख रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडियामा लगि संगठित अपराध गरेको दाबी रहेको। ८) कम्पनी स्थापना भएको दिनदेखि नै १५ प्रतिशत शेयरधनी रहेको र व्यवस्थापनमा सुरु देखिनै संलग्नता देखिएको।
सर्वोच्च अदालतको संयुक्त इजलासले यी आधारमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।
यस्तै, सूर्यदर्शन बचत तथा ऋण सहकारीमा एक अर्ब ५० करोड हिनामिना भएकोमा रवि संलग्न गोर्खा मिडियामा ३० करोड प्रवाह भएको, सुप्रिम सहकारीको रविका नाममा बिनाधितो दुई करोड ऋण प्रवाह भएको, चितवनको सहारा चितवन सहकारीको ११ करोड ७० लाख गोर्खा मिडियामा गएको र रवि लामिछानेले हस्ताक्षर गरेका ४१४ वटा चेक फेला परेको अदालतको आदेशमै उल्लेख छ।
स्वर्णलक्ष्मी सहकारीको ५ करोड ८ लाख रुपैयाँ, पर्साको सानो पाइलाबाट एक करोड ५० लाख रुपैयाँ लामिछानेले लिएको देखिएको आदेशमा उल्लेख छ। यी अदालतले देखाएका यी आधार प्रस्तुत गर्दै थापाले सर्वोच्च अदालतको वेवसाइडमा गएर पनि आदेश हेर्न सकिने बताएका छन्।
लामिछाने ५ वटा सहकारी ठगीमा सबै अदालतबाट धरौटी र रुपन्देही अदालतमा बिगो समेत जमानत राखेर रिहा भएका हुन्।