सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। उनले आज महामन्त्रीसमक्ष राजीनामा पेश गर्दै अब साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
हुमागाईँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १० हजार ५७३ मत प्राप्त गरेका थिए।
राजीनामा पत्रमा उनले पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन्। विशेषगरी उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तारमा पारदर्शिताको अभाव देखिएको तथा सदस्यता र आर्थिक व्यवस्थापन अपारदर्शी रहेको आरोप उनले लगाएका छन्।
उनका अनुसार पार्टीले घोषित सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखाएको भन्दै सुधारको सम्भावना कमजोर बन्दै गएको निष्कर्षसहित उनले पार्टीबाट अलग हुने निर्णय लिएका हुन्।