सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी निवारण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन

बिहीबार, माघ २९, २०८२

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल तथा सिएफटी) सँग सम्बन्धित समसामयिक विषयहरूमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाद्वारा आयोजित यस सम्मेलनको उद्घाटन गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपाल वित्तीय कार्यदलको ग्रे लिस्टमा परेको वर्तमान अवस्थामा सम्पत्ति शुद्धीकरण निवारणका आन्तरिक संयन्त्रहरूलाई थप सुदृढ र सबल बनाउनुपर्ने धारणा राखे । “ग्रे लिस्टमा पर्नु चुनौती भए तापनि यसले हामीलाई आन्तरिक संयन्त्रलाई पारदर्शी र विश्वव्यापी मापदण्ड अनुसार परिमार्जन गर्न महत्त्वपूर्ण पाठ सिकाएको छ,” उनले भने ।

गभर्नर पौडेलले वित्तीय अपराध विरुद्धको लडाइँ कुनै एउटा निकायको मात्र जिम्मेवारी नभई बैंकिङ, बीमा, पुँजी बजार, र सहकारी लगायतका सबै सरोकारवाला निकायहरूको साझा प्रतिबद्धता र सहकार्यबाट मात्र सफल हुने स्पष्ट पारे ।

विज्ञहरूको सहभागिता र कार्यपत्र प्रस्तुति सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र मंगोलियाका विषय विज्ञहरूको सहभागिता रहेको छ । कार्यक्रमको पहिलो दिन नेपाल राष्ट्र बैंकका उपनिर्देशक अभियान उपाध्यायले नेपालमा (एएमएल तथा सिएफटी) को वर्तमान अवस्था र पारस्परिक मूल्याङ्कन २०२३ बारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, श्रीलंकाको वित्तीय जानकारी एकाइका वरिष्ठ सहायक निर्देशक सुपुन गुणासेकराले व्यापार र सेवामा आधारित सम्पत्ति शुद्धीकरणका चुनौतीहरूबारे प्रकाश पारे ।

सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, र नियामक निकायका प्रतिनिधिहरूले सम्पत्ति शुद्धीकरण निवारणका नियामक, सुपरिवेक्षकीय र न्यायिक दृष्टिकोणका बारेमा गहन छलफल गरिरहेका छन् ।

दोस्रो दिनको कार्यतालिकाअनुसार भोलि (बिहीबार) हुने दोस्रो दिनको सत्रमा भारतीय रिभर्ज बैंकका विज्ञ विजय रैनाले सुपरिवेक्षणमा प्रविधिको प्रयोग र डाटा एनालिटिक्सबारे प्रस्तुति दिने  राष्ट्र बैंकले जनाएको छ । साथै, मंगोलियाका विज्ञ नोमुन्दारी बाट्सुखले आफ्नो देश कसरी ग्रे लिस्टबाट हट्न सफल भयो भन्ने अनुभव र नेपालले सिक्नुपर्ने पाठबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनका लागि कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र क्षमता विकासमा यो सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ । सम्मेलनको समापन सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाका प्रमुख आर्या जोशीको मन्तव्यसँगै हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्