एआईको दुरुपयोग रोक्न आईजीपीले अलग्गै सेल खडा गर्ने मिलाए चाँजोपाँजो

सोमबार, माघ २६, २०८२

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्।

सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले उक्त सेल गठन गर्न लागेको उनले बताएका हुन्।

सोमबार काठमाडौँमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गरे।

उनले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए।

प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरुले सचेत भएर काम गर्नुपर्ने बताए। 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्