Dashain Banner
Dashain Banner

काठमाडौँ-२ मा कुन्तिलाई जिताउन राजेन्द्र लिङ्देन आफैं मैदानमा खटिए

आइतबार, माघ २५, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेका नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताए ।

लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिँदै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे । उनले सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाए । संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरे ।

दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भत्र्सना समेत गरे । देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए । उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गरे । अध्यक्ष लिङदेनले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ । यो पार्टी कुनै विदेशीहरुले बनाइदिएको राजनीतिक पार्टी होइन । कसैको जुठो कुरो खाएर विदेशीहरुको आशिर्वादबाट बनेको पार्टी होइन । नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो । र त्यस प्रकारका सबै चुनौतीहरुको सामना गर्ने सामथ्र्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु,’ उनले भने ।

उनले काठमाडौं क्षेत्र नं. २ बाट पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलको पक्षमा मत माग्दै पोखरेल निष्ठावान र सेवामा समर्पित व्यक्तित्व भएको दाबी गुरे । पोखरेललाई मतदान गर्नु भनेको एउटा व्यक्तिलाई मात्र नभई देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको उनको तर्क छ । लिङदेनले निर्वाचन आयोगको आचारसंहिताको सम्मान गर्दै मतदाताहरूलाई ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक रुपमा आग्रह गरे ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्