सोसल मिडिया
युनिकोड
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए ।
उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’ गरिने बताए ।
प्रबन्ध निर्देशक पौडेलले भने, “केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरिसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्छौं ।” उनले समानुपातिकतर्फको मतपत्र यही माघ २५/२६ गतेदेखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुन१/२ गतेसम्म सबै काम सकेर जिल्लामा ढुवानी हुने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाइएको छ ।
“समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको छ । आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने निर्वाचन आयोगको योजनाअनुसार केन्द्रले काम गरिरहेका छ,” पौडेलले भने ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ ।