सोसल मिडिया
युनिकोड
आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूले अब निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्नो खाताको साटो निर्वाचन प्रयोजनको खातामा मात्रै आर्थिक सहयोग तथा चन्दा संकलन गर्न पाउने व्यवस्था गरेको हो ।
‘हामीले निर्वाचन प्रयोजनका लागि खाता सम्बन्धी कार्यविधि बनाएका थिएनौं, त्यसो हुँदा कतिपय उम्मेदवारहरूले अरुबेला खोलेका खाताको विवरण सार्वजनिक गरेर चन्दा तथा आर्थिक सहयोग माग्नुभएको थियो,’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘अब भने कार्यविधि नै बनिसकेको अवस्थामा निर्वाचन प्रयोजनका लागि खोलिएका खाताहरूमा बाहेक अरूबाट आर्थिक सहयोग र चन्दा माग्न पाइने छैन ।’
अघिल्लो निर्वाचनदेखि नै कतिपय उम्मेदवारहरूले सामाजिक सञ्जालमा आफ्नो नीजि खाताको विवरण सार्वजनिक गर्दै इच्छुकहरूलाई चन्दा वा आर्थिक सहयोग दिन आग्रह गरेका थिए । तीमध्ये कतिपयले आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक गरे भने कतिपयले गरेनन् । यसपाली त्यो लहर अझै बढेपछि निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाताको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।
यदि कुनै उम्मेद्वार र दलहरूले त्यसरी चन्दा संकलन गरेको भए अबदेखि रोकिने प्रवक्ता भट्टराईले बताए । आर्थिक सहयोग तथा चन्दा संकलन गर्ने राजनीतिक दलहरूलाई पनि त्यही नियम लागू हुने प्रवक्ता भट्टराईको भनाइ छ ।
निर्वाचन आयोगको सहजीकरणमा खुल्ने खाता निर्वाचन अनुगमन अधिकृतहरूको प्रत्यक्ष निगरानीमा रहन्छन् ।