कस्तो हुन्छ आजको मौसम ? 

बुधबार, माघ २१, २०८२

देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । तराईमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियसम्म पुग्नेछ । 

“तराईमा बिहान हुस्सु र कुहिरो लागेको छ, यो मध्याह्नपछि हट्दै जानेछ,” मौसमविद् विभूति पोखरेलले भनिन् । दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । तर, मध्याह्नपछि हट्नेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

काठमाडौंमा भने वर्षाको सम्भावना नरहेको मौसमविद् पोखरेलले जानकारी दिइन् । “हिजो काठमाडौंमा वर्षा हुन्छ कि भन्ने थियो, तर भएन,” उनले भनिन्, “आज काठमाडौंमा वर्षा हुने सम्भावना छैन ।” 

विभागले राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना  छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । तर, यो कमजोर भइसकेको छ । वर्षा गराउने प्रणाली मंगलबार साँझबाट नै कमजोर भइसकेको मौसमविद् पोखरेलको भनाइ छ । 

“अब क्रमशः तापक्रम बढ्दै जानेछ । तापक्रम बढ्दै गएर जाडो कम हुँदै जानेछ,” मौसमविद् पोखरेल भन्छिन्, “अब यो वर्षको हालसम्मको न्यून तापक्रमभन्दा कम हुने सम्भावना छैन ।” 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्