सोसल मिडिया
युनिकोड
प्रभु बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मालाई नियुक्त गरिएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सोमबार राजीनामा दिएपछि रिक्त पदमा सुमन शर्मालाई नियुक्त गरिएको छ ।
सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले शेरचनको राजीनामा स्वीकृत गरेपछि आज बसेको बोर्ड बैठकले भने अनुभवि बैंकर शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको छ । नियुक्तिसँगै आजै पदवहाली गरिएको बैंकका सूचना अधिकारी रवीन्द्र ढकालले जानकारी दिए ।
सफल बैंकर शर्माले सन् १९९७ बाट नेपाल एसबीआई बैंकमार्फत वैकिङ करियर सुरु गरेका हुन् । पछिल्लो समय माछापुच्छ्रे बैंक, सनराइज् बैंक लगायतमा सीईओ रहिसकेका शर्मासँग करिब साढे दुई दशकसम्मको बैंकिङ क्षेत्रमा अनुभव छ । यसरी उनले बैंकिङ उद्योगमा कुशल र दक्षता प्रस्तुत गरिसकेका छन् ।
सीईओ शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले नेदरल्यान्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए उत्तीर्ण गरेका छन् । उनी एमबीएमा स्वर्ण पदक विजेता हुन् ।