आचारसंहिता उल्लंघन गर्ने धनकुटाका दुई स्थानीय तहलाई गराईयो सचेत 

शुक्रबार, माघ १६, २०८२

जिल्ला प्रशासन कार्यालय धनकुटाले सहिदभूमि र चौविसे गाउँपालिकालाई आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको छ । आचारसंहिता लागु भइसकेको अवस्थामा स्थानीय तहले वितरणसम्बन्धी कार्यक्रम आयोजना गरेको भन्दै उजुरी परेपछि सचेत गराएको हो । 

आचारसंहिता लागु भएको समयमा जनप्रतिनिधिको उपस्थितिमा न्यानो कपडा तथा सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिएको भन्दै प्रशासनमा उजुरी परेको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले स्थानीय तहका विषयमा उजुरी प्राप्त भएको जानकारी दिँदै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराइएको बताए ।

उनका अनुसार, ती वितरण कार्यक्रम स्थानीय तहका नियमित कार्यक्रमअन्तर्गत रहे पनि आचारसंहिता लागु भइसकेकाले यस्ता कार्यक्रममा विषयगत शाखाका कर्मचारी मात्र उपस्थित गराउन निर्देशन दिइएको छ । “वितरणका कार्यक्रममा जनप्रतिनिधि र उमेदवारलाई उपस्थित नगराउन सचेत गराएका छौँ,” उनले भने ।

रेग्मीका अनुसार, आचारसंहितासम्बन्धी विषयमा आगामी माघ १८ गते आइतबार उमेदवार तथा उनीहरूका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रमसमेत आयोजना गरिएको छ । यसअघि नेकपा एमालेका उमेदवार राजेन्द्र राईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्