सोसल मिडिया
युनिकोड
अमेरिकाले त्यहाँ रहेका नेपालीहरूले भिसाको दुरुपयोग गरिरहेको सूचना प्राप्त भएको भन्दै नेपाली दूतावासलाई सचेत गराएको छ। दूतावासलाई अमेरिकी अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूको ग्रिन कार्ड स्टाटसमा समेत सोझै असर पर्न सक्ने तथा रद्दसमेत हुन सक्ने जानकारी गराएपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको हो।
दूतावासले सूचनामा भनेको छ, ‘अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा वा सहायता माथि निर्भर भएको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ।’
दूतावासले विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।’
दूतावासले बी१/बी२ भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र रोजगारी लगायत तोकिएकोभन्दा फरक काममा संलग्न भएको पाइएको आधारमा अमेरिकी सरकारले २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा अमेरिकी डलर ५००० देखि १५००० सम्म धरौटी (भिसा बन्ड) राख्नुपर्ने प्रावधान लागू गरेको समेत जानकारी गराएको छ।
दूतावासले अगाडि लेख्छ, ‘यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुन सक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई अमेरिकी भिसा प्राप्ति अझ कठिन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्न जान्छ।’
दूतावासले विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा/सहायता माथि निर्भर नहुन/नगराउनुहुन, साथै बी१/बी२ भिसाको दुरुपयोग नगर्न अनुरोध गरेको छ।