कांग्रेसका सभापति गगनले सर्लाही-४ लाई उत्कृष्ट बनाउने गरे बाचा

बिहीबार, माघ १५, २०८२

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् । सर्लाही ४ मतदातालाई सम्बोधन गर्दै थापाले आफ्नो सबै तागत लगाएर सर्लाही ४ लाई उत्कृष्ट बनाउने बताएका हुन् । 

‘साथीहरूसँग म जोडिन जान्छु । उहाँहरूको तागत म प्रयोग गर्दै जान्छु । अनि बाहिर मैले बनाएको जुन सम्बन्ध छ, त्यो सम्बन्ध बनाएको आधारमा म उनलाई के भन्ने हो भने, थापाले थप भने, ‘मेरो क्षेत्र यो हो अब । यहाँको शिक्षामा मैले काम गर्नुछ, यहाँको स्वास्थ्यमा मैले काम गर्नुछ, यहाँको कृषिमा मैले काम गर्नुछ । यहाँको खेतमा मैले काम गर्नुछ, सिँचाइमा मैले काम गर्नुछ । तिमीहरूको मलाई मद्दत चाहिन्छ । तपाईँहरूको मलाई मद्दत चाहिन्छ भनेर त्यो सबै मैले यहाँ ल्याएर पोख्ने हो ।’

आफ्नो राजनीतिक यात्रा बारे प्रस्ट पार्दै थापाले अझै ८/१० वर्ष आफुले राजनीति गर्ने भन्दै उनले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने पनि बताए । 

‘मधेशको ३२ वटा निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाहीको क्षेत्र नम्बर ४ हो भन्ने कुरा मैले बनाउँछु । यो कुरामा तपाईँहरू निश्चिन्त भए हुन्छ । किनकि मेरो त भर्खर यात्रा सुरु हुँदैछ,’ उनले भने, ‘ म त भर्खर कांग्रेसको सभापति भएको छु विशेष महाधिवेशनबाट । फेरि कांग्रेसको अधिवेशन गर्नुछ, फेरि मलाई सभापति बन्नुछ, अर्को ८–१० वर्ष त मलाई सक्रिय राजनीतिमा रहनुछ ।’ थापाले शिक्षा, स्वाथ्य, कृषि, सूचना प्रविधि हरेक क्षेत्रमा टिम बनाएर काम गर्ने पनि बताए । 

‘नियमित रूपमा यहाँ आउँछु । यहाँ यो कार्यालयले तयार गरेको कामहरूको बीचमा बसेर काम गर्छु । मेरो शिक्षाको टिम, मेरो स्वास्थ्यको टिम, मेरो कृषिको टिम, मेरो सिँचाइको टिम र आज काठमाडौँबाट मेरो सूचना प्रविधिको, आईटीको टिम आउँदैछ,’ उनले भने, ‘सर्लाही क्षेत्र नम्बर ४ को एउटा–एउटा कुनामा गएर यहाँका विषयहरू के छन्, मुद्दाहरू के छन्, ती सबै कुराको उनीहरूले अध्ययन गर्छ । कृषिको टिम हिजो काठमाडौँ फर्कियो, यहाँ ५–६ दिन बसेर अध्ययन गरेर । अब उनीहरूले रिपोर्ट तयार गर्छ । त्यसको आधारमा मैले ५ वर्ष काम के गर्ने भन्ने कुरा मैले बनाउँछु, निरन्तर गरिराख्छु ।’

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्