प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, कहाँ-कहाँ पर्यो असर ?

बुधबार, माघ १४, २०८२

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बन्न पुगेको छ । बुधबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण काठमाडाैं उपत्यकासहित तराई क्षेत्रको वातावरण प्रभावित हुँदै गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

जसका कारण आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जनाएको छ ।

बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलहरूको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डिया बनारस ड्राइभर्ट भएको छ भने दोहा कतारदेखि काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाज आकाशमै होल्ड भएको विमानस्थलले जानकारी दिएको छ । 

यसैगरी आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले हुन पुगेको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एयरका दुईवटा फ्लाइट काठमाडौंदेखि भद्रपुर र एउटा तुम्लिङ्गटारको उडान रोकिएको अवस्था छ । पोखरा, जनकपुर, भरतपुर र सिमराका फ्लाइटहरू समेत प्रभावित बनेको विमानस्थलले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्