सोसल मिडिया
युनिकोड
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा छन् ।
जसमध्ये कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाहीको क्षेत्र नं ४ पनि संवेदनशील सूचीमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको यो क्षेत्र यसपटक थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा पनि छ ।
२०७९ मा सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले जितेका थिए । कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
जिल्लामा कुल ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटा अति संवेदनशील तथा १ सय ३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको हो । २३ मतदानस्थल मात्र सामान्य सूचीमा जिल्ला सुरक्षा समितिले राखेको छ । क्षेत्र नम्बर ४ को ८१ मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन् ।
जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिक मतदान स्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा अपराधिक क्रियाकलापका आधारमा वर्गीकरण गरेको हो । अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सोहीअनुरुप सुरक्षा घेरामा राखेर भयरहित वातावरणमा निर्वाचन गराउने योजना रहेको सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
यसअघिको निर्वाचनमा जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र राखिएको थियो । यसपटकको निर्वाचनमा भने ३ सय १२ वटा मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।