Dashain Banner
Dashain Banner

राष्ट्र बैंकले आजै एक वर्षे अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने 

बुधबार, पुस ३०, २०८२

नेपाल राष्ट्र बैंकले बुधबार (पुस ३०) पनि ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । 

‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । 

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस ३० गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । 

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । 

तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ । 

ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुस १४ यता (आजसहित) नौपटक ऋणपत्र निष्कासन गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्