देशैभर २६८ शाखा भएको नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

मंगलबार, पुस २९, २०८२

नबिल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा निर्वाणकुमार चौधरी चयन भएका छन् । बैंकको ४१औँ वार्षिक साधारणसभाले चौधरीलाई अध्यक्ष चयन गरेको हो ।

साथै, साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।

साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै  मर्जर सफल बनाउनका लागि समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले पाँच अर्ब (प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले पाँच करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।  

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्