विकास बजेट खर्च निराशाजनक, छ महिनामा ११ प्रतिशत खर्च 

आइतबार, पुस २७, २०८२

चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुस २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ । यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो ।
 
गत आवको यही अवधिमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत रहेको थियो । यसले गत वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको देखाउँछ । 

जेनजी आन्दोलन, रुग्ण ठेक्काका नाममा सम्झौता तोडिँदा त्यसको असर विकास बजेट कार्यान्वयनमा परेको सम्बद्ध पक्षहरू बताउँछन् । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट कार्यान्वयनको सन्दर्भमा पुजीगत खर्चमा केही समस्या देखिएको बताए । उनले जेनजी आन्दोलनका कारण विकास बजेट चाहेअनुसार खर्च हुन नसकेको बताए ।

करिब एक डेढ महीना प्रशासनिक संयन्त्र अलमलमा पर्दा त्यसले बजेट कार्यान्वयन प्रभावकारी नभएको उनको भनाइ छ । यद्यपि, अर्थ मन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायलाई सहजीकरण गरेको र अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउने पाण्डेयले बताए । 

पाण्डेयले भने, “बजेट कार्यान्वयनको पाटो हेर्दा बजेटका मुख्य तीन शीर्षक चालु खर्च जुन अपेक्षित नै छ । पुँजीगत खर्चमा केही समस्या देखिएको छ । त्यो समस्या जेनजी आन्दोलनका कारण पनि देखिएको हो । करिव एक डेढ महिना प्रशासनिक संयन्त्र अलमलमा परे । त्यसले पनि बजेट कार्यान्वयन प्रभावकारी नभएको हो । अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरुलाई सहजीकरण गरेको छ । अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउनेछ ।”

पाण्डेयका अनुसार कुनै ठेकदारले लामोसयम काम नगरेर बस्दा त्यसले विकासमा पार्ने प्रभाव र अहिलेका मौजुदा कानूनमा विचार गरेर रुग्ण ठेक्काबारे कतिपय निर्णयहरू गरिएको र त्यसले भोलीको विकास निर्माणमा सकारात्मक असर पार्नेछ । 

निर्माण व्यवसायीहरू पनि विकास निर्माण प्रभावित भइरहेको बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विगतमा हचुवाका भरमा आयोजना छनौट गरिएर अघि बढाइँदा कतिपय आयोजनामा काम गर्न निर्माण व्यवसायीलाई समस्या भइरहेको बताए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्