सोसल मिडिया
युनिकोड
प्यूठानको झिमरुक गाउँपालिका–७, कुता निवासी शिबलाल जैसीको ७३ वर्षको उमेरमा निधन भएपछि परिवार गम्भीर आर्थिक तथा सामाजिक संकटमा परेको छ।
जैसीको निधनसँगै घरको एकमात्र सहारा गुम्दा परिवार दैनिक जीवनयापनमै समस्यामा परेको हो। स्व. शिबलाल जैसीकी श्रीमती रिमा जैसी अपाङ्ग हुनुहुन्छ। परिवारमा १३ वर्षीय छोरा सजन सुवेदी र ११ वर्षीया छोरी सजना सुवेदी रहेका छन्। सजन कक्षा ७ र सजना कक्षा ६ मा अध्ययनरत छन्। बुबाको निधनपछि बालबालिकाको पठनपाठन, खानपान तथा दैनिक आवश्यकतामा समस्या देखिएको छ। कृया बसेकै अवस्थामा १३ वर्षीय सजन सुवेदीले सबैसँग सहयोगको अपिल गरेका छन्। उनले भने, “बुबा हुनुहुँदा मेहनत गरेर हामीलाई पढाउनुहुन्थ्यो र पाल्नुहुन्थ्यो। अहिले बुबा बित्नुभएपछि घरमा पैसा पनि छैन, खाने अन्न पनि छैन। आमा अपाङ्ग हुनुहुन्छ। कृयाखर्चसमेत उतार्ने अवस्था छैन। अब हामी कसरी बाँच्ने ? सबैले सक्दो सहयोग गरिदिनुहोस्।” परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगका लागि सार्वजनिक अपिल गरेका छन्। उपाध्यक्ष पोखरेलले आमा रिमा जैसीको नाममा सिटिजन बैंक, मच्छी शाखामा रहेको अपाङ्ग भत्ता बुझ्ने बैंक खातामा सहयोग संकलन भइरहेको जानकारी दिएका छन्। सहयोगलाई सहज बनाउन उक्त खाताको क्यूआर कोडसमेत तयार गरिएको छ।
उपाध्यक्ष पोखरेलका अनुसार मानवीय भावनाबाट प्रेरित भई उनले १३ औँ दिनका अवसरमा आवश्यक खाद्य सामग्री—चामल, दाल, आलु, तेल, नुन, मसला, साबुन, प्याज लगायतका सामग्री—आफैँ खरिद गरी आफ्नै सवारी साधनमार्फत पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्। साथै उनले सबै सामाजिक अभियन्ता, जनप्रतिनिधि, संघसंस्था तथा आम नागरिकलाई आमा रिमा जैसीको नाममा रहेको बैंक खातामा आफूले सक्दो सहयोग गरी अभियानमा जोडिन आग्रह गरेका छन्।
स्थानीयवासीका अनुसार स्व. शिबलाल जैसी सामान्य मजदुरी तथा कामकाज गरेर परिवार चलाउँदै आएका थिए। उनको निधनसँगै परिवारको आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भएको छ। अपाङ्ग आमाको हेरचाह, दुई साना बालबालिकाको शिक्षा र दैनिकी व्यवस्थापन परिवारका लागि गम्भीर चुनौती बनेको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा समाजसेवीहरूले पीडित परिवारलाई दीर्घकालीन राहत तथा संरक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। हाल तत्कालीन राहतका रूपमा खाद्यान्न तथा आर्थिक सहयोग जुटाइए पनि बालबालिकाको भविष्य सुरक्षित गर्न थप सहयोग अपरिहार्य रहेको पाेखरेलले बताए ।
विपन्न परिवारको पीडामा साथ दिन इच्छुक सबैलाई सहयोग अभियानमा सहभागी भई मानवीयता प्रदर्शन गर्न अपिल गरिएको छ ।