श्रम सम्झौता हुने मुलुकको संख्या १३ पुग्यो

मंगलबार, पुस २२, २०८२

सोमबारको मन्त्रिपरिषद् बैठकले ओमानसँग पहिलोपटक श्रम सम्झौता गर्न र इजरायलसँग नवीकरण गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

इजरायलमा सरकारीस्तरबाट श्रमिक पठाउने गरिएको छ भने ओमानमा म्यानपावरमार्फत युवाहरू रोजगारीका लागि जाने गरेका छन् । इजरायलसँग प्रत्येक पाँच वर्षमा श्रम सम्झौता नवीकरण गर्नुपर्ने सर्तअनुसार कार्य गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘इजरायलसँग श्रम सम्झौता नवीकरण हुन लागेको हो, ओमानसँग भने नयाँ श्रम सम्झौता गर्ने निर्णय भएको हो,’ उनले भने ।

मन्त्रिपरिषद्को निर्णय आएपछि परराष्ट्र मन्त्रालयमार्फत दुवै देशसँग समन्वय हुने उनले बताए । ‘परराष्ट्र मन्त्रालयबाट दुवै देशसँग सम्झौताको मिति तय गर्ने र सम्झौता हुने विषयवस्तु आदान–प्रदान हुनेछन्,’ उनले भने ।

इजरायलसँग श्रम सम्झौता नवीकरण हुँदा दुईवटा नयाँ विषयसमेत थप गर्न लागिएको उनले जानकारी दिए । हालसम्म कृषि प्रशिक्षार्थी मात्रै लिइरहेको इजरायलमा अब कृषि कामदारसमेत पठाउने गरी बाटो खुलाउन लागिएको उनले बताए । ‘कृषि प्रशिक्षार्थीका रूपमा काम सिकेर आएका युवालाई कृषि कामदारका रूपमा पठाउन मिल्ने गरी सम्झौता नवीकरण हुँदै छ,’ उनले भने ।

कृषि प्रशिक्षार्थीका रूपमा तालिम लिएर आएका युवाको संख्या करिब २२ सय रहेको, तर त्यसमध्ये १३ सय युवा मात्रै कृषि कामदारका रूपमा जान सक्ने अनुमान गरिएको छ । किनभने, इजरायलले कृषि कामदारका लागि ३९ वर्षमुनिका युवा मात्रै लिने नीति लिएको छ ।

त्यस्तै, केयर गिभरतर्फ पनि लामो समयसम्म काम गर्न पाउने वातावरण सिर्जना हुने गरी सम्झौता नवीकरण गर्न लागिएको उनले बताए । दुवै देशले सरकारीस्तरबाट सबै प्रक्रिया पूरा गर्ने भएकाले तुलनात्मक रूपमा सुरक्षित र राम्रो आम्दानी हुने देशको सूचीमा इजरायल पर्ने गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा १३ सय ४२ युवा श्रमका लागि इजरायल पुगेका थिए । चालू आर्थिक वर्ष ०८२/८३ को मंसिर मसान्तसम्म ६ सय ९२ युवा इजरायल गएको विभागको तथ्यांक छ ।

ओमानसँग भने पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । मंसिर महिनामा विदेश गएका युवाको संख्या हेर्दा सबैभन्दा धेरै नेपाली श्रमिक पुग्ने देशको सूचीमा ओमान आठौँ स्थानमा छ ।

मंसिरमा १२ सय ४८ युवा ओमान पुगेका थिए भने चालू आर्थिक वर्ष ०८२/८३ को मंसिर मसान्तसम्म तीन हजार नौ सय ८४ युवा ओमान पुगेका छन् । गत आर्थिक वर्ष ०८१/८२ भने कुल आठ हजार ६ सय एक युवा रोजगारीका लागि ओमान पुगेको विभागको तथ्यांक छ । ओमानसँग हस्ताक्षर भएपछि श्रम सम्झौता हुने मुलुकको संख्या १३ पुग्नेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्