सोसल मिडिया
युनिकोड
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देशबाहिर लगिएको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् ।
उनले शनिबार पत्रकारसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट पारे । यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ ।
सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृतिबिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानुनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।
मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डीईए) कार्यालय लगिएको थियो ।
ब्रुकलिनको संघीय जेलमा मुद्दाको पर्खाइमा उहाँलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ । ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डीईए एजेन्टहरूको साथमा देखिएका छन् ।
यद्यपि, अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् । यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
भेनेजुएलाको कानुनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरे ।
ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले
भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए । उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पुर्याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे ।
शनिबार बिहान काराकासमा विस्फोट सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’।
आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।
मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो ।