विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली आजदेखि संचालनमा, कसरी गरिन्छ ?

बिहीबार, पुस १७, २०८२

जेन–जी आन्दोलनका कारण स्थगित विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली बिहीबारबाट सञ्चालनमा आउने भएको छ । 

प्रणालीको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ । विभागले प्रणालीको नाम ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआइएस)’ राखेको छ । यसअघि ‘विदेशी नागरिक दर्ता तथा अनुमगन प्रणाली (एफएनआरटिएस)’ थियो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गत १ असोजबाटै लागू गर्ने भनिएको प्रणाली बिहीबारबाट सञ्चालन हुने बताए । ‘जेन–जी आन्दोलनपछि स्थगित विदेशी नागरिकको सूचना व्यवस्थापन गर्ने प्रणाली बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ । गृहमन्त्रीबाट प्रणालीको उद्घाटन हुनेछ,’ उनले भने ।

विभागका अनुसार यो प्रणाली पहिलो चरणमा उपत्यकाभित्रका तारे होटेलबाट कार्यान्वयनमा ल्याइनेछ । नेपालमा विनाभिसा र भिसा दुरुपयोग गरी बस्ने विदेशी नागरिकको संख्या बढेपछि विभागले यो प्रणाली कार्यान्वयनमा ल्याउन खोजेको हो । 

विभागका अनुसार नेपालमा अहिले आठ हजार २०६ विदेशी नागरिक विनाभिसा बसिरहेका छन् । 

कसरी हुन्छ ट्रयाकिङ ?

विदेशी नागरिक नेपालमा प्रवेश गरेलगत्तै सम्पर्कमा पुग्ने पहिलो निकाय अध्यागमन कार्यालय हो । त्यसपछि होटेल हो । ट्राभल्स एन्ड टुर, मनी एक्सचेन्ज त्यसपछि जोडिने निकाय हुन् । सोही क्षेत्रलाई प्रयोग गरी विभागले विदेशी नागरिक ट्रयाक गर्न खोजेको थियो । यसैका लागि विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआइएस)’ विकास गरेको हो । विभागका अनुसार एफएन–एमआइएसबाट दुई तरिकाले विदेशी नागरिकमाथि ट्रयाकिङ गर्न सकिन्छ । पहिलो, विभागले बनाएको एप्समार्फत र दोस्रो होटेलमार्फत । विभागले विदेशी नागरिकका लागि भिसा अप्लाई गर्न डिपार्टमेन्ट अफ इमिग्रेसन नामको एप विगतदेखि नै सञ्चालनमा ल्याएको छ । अध्यागमन कार्यालयमा पुग्न साथ कुनै पनि विदेशी नागरिकले विभागको एप्समा आफ्नो विवरण एड गर्न सक्छ । त्यसलगत्तै विभागले उसलाई एउटा क्युआर कोड उपलब्ध गराउँछ । सोही कोड लिएर ऊ होटेल पुग्छ ।

होटेलमा उसले फाराम भर्नुपर्दैन, सोही कोड देखाए पुग्छ । होटेलमा रहेको डिभाइसले कोड रिड गर्छ । जसको विवरण एफएनआरटिएसमा स्वत: दर्ता हुन्छ । होटेलबाट चेक आउट हुँदा पनि विदेशी नागरिकले सोही क्युआर होटेललाई दिन्छ । डिभाइसले रिड गरेलगत्तै त्यसको विवरण एफएनआरटिएसमा स्वत: दर्ता हुन्छ । क्युआर कोड नलिएका विदेशी नागरिकले भने सम्बन्धित होटेलमा आफ्नो पासपोर्टसहितको विवरण पेस गर्नुपर्छ । होटेलले सम्बन्धित व्यक्तिको विवरण विभागको एफएनआरटिएसमा चढाउँछ । र, तथ्यांक रजिस्टर हुन्छ । यो प्रणाली ट्राभल्स एन्ड टुर र मनी एक्सचेन्जमा पनि कार्यान्वयन गरिने हुँदा विदेशी नागरिकको पूरा अवस्थिति विभागको जानकारीमा रहन्छ । प्रणालीले भिसा सकिएको र दुरुपयोग भएको जानकारीसमेत विभागलाई गराउँछ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्