जेनजी आन्दोलनमा जलाईएकी जेएन पत्नीलाई आजै नेपाल ल्याईने

सोमबार, पुस ७, २०८२

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि आज स्वदेश फर्कने भएकी छन् ।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो ।

भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । त्यसपछि क्रमशः अवस्था सुधारिँदै गएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।

नेपाल फर्किएपछि चित्रकारलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको झलनाथ खनालले जानकारी दिएका छन् । चित्रकार आज साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्