सोसल मिडिया
युनिकोड
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले आफ्नो २८औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।
ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा आयोजित साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि हार्तम्छालीले समाजमा सबैले सबैभन्दा सजिलो छिटो बुझ्ने भाषाको रुपमा फोटोग्राफीलाई लिन सकिने भएको भन्दै हार्तम्छालीले यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरेर लैजानुपर्ने बताए ।
कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राखेका थिए । सभामा अध्यक्ष प्रदीपराज वन्तले प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थाले अवलम्बन गरेका रणनीतिहरूबारे जानकारी गराएका थिए । अध्यक्ष वन्तले भने- “एनएफपीजे नेपालले आगामी कार्यकालमा फोटोपत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।”
महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्षमा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव श्रेष्ठले भने- “२०८१/८२ मा एनएफपिजेले संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य र फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति गरेको छ, आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमता अभिवृद्धिलाई अझ सशक्त बनाइनेछ ।” त्यस्तै कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो । ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण-पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री तथा ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको थियो ।
त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाज्यूद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार-२०८२’ फोटो पत्रकार संस्थाका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरियो भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड-२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ-सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।