अमेरिकाले यसकारण बन्द गर्यो डीभी कार्यक्रम, अब खुल्छ कि खुल्दैन ?

शुक्रबार, पुस ४, २०८२

विश्वकै शक्तिशाली भनिएको देश अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी हुन्  ।

(डीभी) कार्यक्रम मार्फत अमेरिकाका पुगेका व्यक्तिले अपराध गरेको पुष्टी भएपछी अमेरिकाले सो घोषणा गरेको हो। ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ ।

प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।

अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।

लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग (डीएचएस) अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्