एमालेको महाधिवेशनमा आउनेका लागि कहाँ तोकियो गाडी थन्क्याउने ठाउँ ?

मंगलबार, मंसिर २३, २०८२

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।

एमाले सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रूपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।

काठमाडौंदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले राससलाई जानकारी दिए ।

यस्तै, काठमाडौंदेखि पूर्वतर्फबाट आएका सवारी साधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ । सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमल विनायक कोरिडोरमा पार्किङको व्यवस्था मिलाइएको अध्यक्ष गौतमले जानकारी दिए ।

एमालेको महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहने गरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो ।

अध्यक्ष गौतमले हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्ने गरी व्यवस्था मिलाइएको बताए । उनले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने बताए ।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौं आइसकेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्