Dashain Banner
Dashain Banner

सुनको भाउ बढेपछि राष्ट्र बैंकले थुपार्यो सुन, ३३ अर्ब ५० करोडको सुन किन्यो

शुक्रबार, मंसिर १९, २०८२

नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ ।  चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किनेको छ । यो सुन प्रमाणपत्रमा गरेको लगानी हो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको अस्थायी वित्तीय विवरणअनुसार सुनचाँदीसँग सम्बन्धित सम्पत्तिमा राम्रै लगानी गरेको देखिन्छ । राष्ट्र बैंकको कुल सम्पत्ति विवरण हेर्दा सुन प्रमाणपत्रको लगानीमा ठूलो वृद्धि देखिन्छ । 

यस अवधिसम्म सुन प्रमाणपत्रको मात्रै लगानी एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी छ ।  यो तथ्यांक गत असार मसान्तसम्म (लेखापरीक्षण गरिएको)को लगानी एक खर्ब १८ अर्ब १९ करोड ३५ लाख रुपैयाँको तुलनामा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो । 

गत असारको तुलनामा चार महिनामा राष्ट्र बैंकले थप २८ प्रतिशत सुन खरिद गरी ढुकुटीमा थपेको छ ।  त्यस्तै, गत आव २०८१/८२को तुलनामा ७५.२० प्रतिशतले बढी हो ।  गत आवको कात्तिकसम्ममा राष्ट्र बैंकले सुन प्रमाणपत्रमा मात्रै करिब ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको थियो । 

यसअनुरूप एक वर्षको अन्तरमा थप ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँबराबरको सुन किनेको राष्ट्र बैंकले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्