सेवाग्राहीलाई घुस मागेर रुनु कि हाँसु पार्ने नासुलाई अख्तियारले डाम्यो

मंगलबार, मंसिर २, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस रकम लिएको आरोप लगाउँदै अख्तियारले मंगलबार (मंसिर २) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बाँके जिल्ला अदालतको मुद्दा मिसिल अभिलेख रहेको फाँट ‘क’ मा कार्यरत नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

यसैक्रममा केही दिनअघि अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान हुँदा उनले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीसँग १२ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्