सोसल मिडिया
युनिकोड
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापारघाटा व्यहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग तीन खर्ब चार अर्ब ४५ करोडको व्यापारघाटा व्यहोरेको हो ।
भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले दुई खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले एक खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ ।
त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा एक खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले एक खर्ब चार अर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
भारतपछि सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठूलो व्यापारघाटा व्यहोरेको छ ।
नेपालले १४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामास लगायतका केही देशहरूसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउँछ ।