Dashain Banner
Dashain Banner

बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले जतिबेला पनि लाइन काट्ने

सोमबार, कात्तिक ३, २०८२

डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् ।उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् ।अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् ।ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।

बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ ।यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ ।लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ ।सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।

आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् ।तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नगर्नु भनेकाले सार्वजनिक नगरिएको सिलवालले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्